मञ्जुश्री बौद्ध तत्व ज्योतिष
मञ्जुश्री बौद्ध तत्व ज्योतिष
बौद्ध ज्योतिषी चिपा
सामन्यतय : बौद्ध ज्योतिषका मुल श्रोत कार्ची एवं नाग्ची/ ज्युङ्ची दुई वटा छन । कार्ची भगवान बुद्धद्वारा देशित कालचक्र ज्योतिष र स्वरोदय गरि दुई थरी छन । नाग्ची महामञ्जुश्रीले देशना गर्नु भएको तत्व ज्योतिष हो जसको केग्ची, केची, भाग्ची, नेची, शिन्ची प्रमुख पाँच वटा शाखा छन् ।
कालचक्र ज्योतिष विशेष गरि निरयण सौरवर्ष, सौरमास, सावन दिनको गणित ज्योतिषिय सिद्धान्तमा आधारित छन जसको आधारबाट सौर्य पात्रोको व्यवस्थापन हुन्छ र यसबाट राशी, ग्रह, नक्षत्र, ऋतु, काल, सुर्योदय, सुर्यस्त, मिति एवं तिथिहरुको जानकारी प्राप्ति हुन्छ । कालचक्र ज्योतिष अनुसार वर्षलाई प्रभवर्द, विभव, शुक्लत आदि नामबाट सम्बोधन गरिन्छ र ६० वर्षको १ प्रभव हुन्छ र पुन : प्रभव-विभव-शुक्लत आदि गणना गरिन्छ। यसको सिद्धान्त अनुसार १२ वटा महिना हुन्छ प्रत्येक महिनाको नाम हरेक महिनाको पुणिर्णामामा पर्ने नक्षत्र मघा, फाल्गुणी आदिबाट व्यवस्थित छन भने १२ महिनाको १ वर्ष हुन्छ र चैत (भोटको तेश्रो महिना) लाई वर्षको पहिलो महिना मानिन्छ । साँढे ३० दिनको १ महिना, १२ महिनाको १ वर्ष र १ वर्षमा कालचक्र ज्योतिष अनुसार ३६५ दिन, १५ घडी, ३१ पल, १४ विपल हुन्छ तर सौरवर्षको मान विभिन्न सिद्धान्त अनुसार केही भिन्नता पनि छ जस्तै: आर्य सिद्धान्त, सूर्य सिद्धान्त, ब्रम्ह सिद्धान्त, नाविक पन्चाङ आदिले केही भिन्न सौरवर्ष मान वारे मत राख्दछ ।
चिनियाँ तत्व ज्योतिष सिद्धान्त अनुसार साँढे २९ दिनको १ महिना, १२ महिनाको १ वर्ष र १ वर्षमा ३५४ दिन हुन्छ। मलमास पर्दा चन्द्रमासको १ वर्ष र १ वर्षमा ३८४ दिन सम्म हुन्छ । यसरी सामान्य रुपमा भन्नु पर्दा चान्द्र र सौर वर्षमा साँढे ११ दिनको फरक पर्छ। यो ठूलो अन्तरको कारणवश चान्द्रमास र सौरमासको एउटै महिना पनि अघि पछि पर्न सक्छ । तत्व ज्योतिष चन्द्रवर्ष, चन्द्रमास र तिथिको गणित ज्योतिषिय सिद्धान्तमा आधारित छन । यसबाट चन्द्रपात्रोको व्यवस्था हुन्छ र यसबाट तिथी, ग्रह, नक्षत्र, महिना, वर्ष, ऋतु, काल आदिको जानकारी प्राप्त हुन्छ ।
चिनियाँ तत्व ज्योतिष अनुसार मुसा, गोरु, वाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर, सुँगुर आदि १२ ल्हो को नामले वर्ष, महिना, दिन र समयको निर्धारण हुन्छ । जस्तैः मुसा वर्ष, बाघ महिना, बाघ र बाँदरको दिन र खरायोको समय आदि ।
बौद्ध महायानी र वज्रयानी समुदायले मान्ने ल्होसारको आधारभुत पात्रो नै चन्द्रपात्रो हो। चन्द्रपात्रोको आधारमा मुसा, गाई आदि चान्द्रवर्षको बाघ प्रथम महिनाको बाघको दिन प्रतिपदा तिथिमा नयाँ वर्ष ल्होसार मनाउने परम्परा चीनवाट फैलिएर जापान, कोरिया, मङ्गोलिया, नेपाल, भोट, भारत र भुटान आदि देशमा व्यापक प्रचलनमा आएको छ ।
महा मन्जुश्रीद्वारा देशित ज्योतिष तथा त्यसमा आधारित ल्होसार
ईसा पूर्व ८३७ मा महामञ्जुश्रीले चीनको हुथाई शान (रिवोचेङा) पञ्चशिर्ष पर्वतमा पूण्यवान देवताहरुलाई कायतन्त्र-नङ्साल डोन्मेको धर्मोपदेश, धनवान् नागहरुलाई वाणीतन्त्र-ज्यामयीक छेन्मो, आस्थावान मनुष्य शिष्यहरुलाई चित्ततन्त्र दोड्यो गुदु, यक्ष देग्येहरुलाई गुणतन्त्र दोर्जे देन्सी र ऋद्धिवान असुरहरुलाई कर्मतन्त्र-रुवेल नाग्पोई चावाको धर्मोपदेश गर्नु भएको थियो र विशेष गरि चतुर्मुख ब्रम्हलाई राम्रा, नराम्रा त्याग्ने र अपनाउन छुट्याउने तत्व ज्योतिषका मुल उपदेश तात्विय माता, पुत्र, मित्र, शत्रु आदि बारे धर्मोपदेश गर्नु भएको थियो । ल्हामो नाम्ग्यालमालाई विवाह ज्योतिष, लुग्याल झोक्पो नागराजालाई जिपा चेलुङ जातक ज्योतिष, डम्से सेर्ष्या कपिल ऋषिलाई जुड्डाई छेन्दोन पन्चतत्वको आयुर्वेद ज्योतिष, चिनियाँ राजा कोजे ठूलग्याललाई च्ये गेठी शितोङ सुमग्या डुक्च्यु तोको धर्मोपदेश गर्नु भएको थियो । यस पश्चात मञ्जुश्री चीनवाट नेपाल पाल्नु भै चोबार डाँडा काटेर काठमाडौको पानी निष्काशन गर्नु भै मानव बस्ती बसाल्नु भएर यहाँ आस्थावान उपासक उपासिकाहरुलाई तन्त्र एवं ज्योतिषका धर्मोपदेश गर्नु भएको थियो ।
उता चीन महादेशमा कोचे ठूलग्यालहरुले तत्व ज्योतिष व्यापक फैलाए भने नेपालमा पनि ह्योल्मो, शेर्पा, नेवार र तामाङ समुदाय माझ मञ्जुश्रीद्वारा देशित तन्त्र र तत्व ज्योतिष फैलिएर गयो जसको प्रभावले गर्दा अहिले सम्म पनि यी ह्योल्मो, शेर्पा, नेवार र तामाङ समुदायमा जय जन्म हुँदा मञ्जुश्रीको जातक ज्योतिष अनुसार भाग्य आदि हेर्ने, विरामी हुँदा आयुर्वेद ज्योतिषको प्रयोग गर्ने, मर्दा मृत्यु ज्योतिष हेर्ने आदि प्रचलन प्राचीनकाल देखि चली आएको छ भने घरको पूजाकोठाको छ्योइसाममा वा मान्छे मर्दा खडक वा हतियार राख्ने प्रचलन छ भने विवाहमा अनिवार्य रुपमा कुर्मचक्रको थाङ्का र खडक राख्ने र मर्दा पर्दा पार्थिव शारिरको शिरमा थालमा ऐना, छ्येमी संग एउटा खडक वा धारिलो हतियार राख्ने गर्दछ जुन मन्जुश्रीको प्रतीक हो ।
नाग्ची ज्योतिषमा ल्होखोर च्युङि (१२ वर्ष को चक्रमा जेठो ज्यिवा (मुसा) वर्ष भएको जस्तै १२ महिनाको चक्रमा जेठो महिना ताग दावा (बाघ महिना) हो । विक्रमादित्य शासकको नामवाट प्रचलित वि.सं. को वैशाखवाट प्रथम महिना आरम्भ हुने जस्तै नाग्ची (मञ्जुश्री ज्योतिष) को ताग दावा (बाघ महिना) पौषवाट प्रथम महिना प्रारम्भ हुन्छ । पौष महिनालाई लामा भाषामा ग्याल दावा भनिन्छ ।
जस अनुसार जनावरको नामबाट १२ वर्षको नामहरु निम्नानुसार रहेको पाइन्छ ।
१२ वटा ल्हो र ल्होको लिङ्ग, पुरुष र स्त्री (फो र म्हो)
१.ज्यिवा ल्हो (मुसा वर्ष) : पुरुष/फो
२.लाङ ल्हो (गोरु वर्ष) : स्त्री/म्हो
३.तग ल्हो (बाघ वर्ष) : पुरुष /फो
४.ह्ये ल्हो (खरायो वर्ष) : स्त्री/म्हो
५.डुक ल्हो (गरुड वर्ष) : पुरुष/फो
६.डुल ल्हो (सर्प वर्ष) : स्त्री/म्हो
७.ता ल्हो (घोडा वर्ष) : पुरुष/फो
८.ल्हुक ल्हो (भेडा वर्ष) : स्त्री/म्हो
९.टे ल्हो (बाँदर वर्ष) : पुरुष/फो
१०.ज्या ल्हो (चरा वर्ष) : स्त्री/म्हो
११.ख्यि ल्हो (कुकर वर्ष) : पुरुष/फो
१२.फाग ल्हो(बाँदेल/सुँगुर वर्ष) : स्त्री/म्हो
ऐतिहासिक रुपमा हेर्दा विभिन्न जनावरहरुलाई प्रतिनिधित्व गराई वर्ष गणना गर्ने नाग्चीको ज्योतिष परम्परालाई विश्वकै पुरानो मानिने हुँदा यसको धेरै महत्व रहेको छ ।
ल्होखोर च्युङि (वर्ष चक्र) १२ वटा तत्वहरुको नामाकरण
ल्होखोर च्युङि अर्थात १२ वटा वर्षहरुको नामाकरण कसरी हुन गयो भन्ने सम्बन्धमा केही रोचक प्रसंगहरु पाइन्छ । तर कसरी १२ जीवहरुको नाम रहन पुग्यो भन्ने सन्दर्भमा सबैभन्दा पुरानो परम्परा तथा इतिहास बोकेको चिनियाँहरुमा विभिन्न कथनहरु पाइन्छ । अरु समुदायमा भने यस्तो प्रसंग तथा कथनहरु सुन्नमा आएको छैन। चिनियाँहरुमा दुई प्रकारको कथनहरु पाइन्छ ।
(क) चीनमा इसापूर्व २६०० वर्ष पहिले देखि चलिआएको वर्ष चक्र परम्परा चिनियाँ बादसाह व्हाङ ती ( (Huang Ti) ले पहिलो पटक प्रयोगमा ल्याएको विश्वास गरिन्छ । चिनियाँ दन्त्य कथा अनुसार भगवान बुद्धले परिनिर्वाण हुने निश्चित भएपछी संसारको सम्पूर्ण प्राणिहरुलाई विदाईका निम्ति निम्त्याउनु भएको थियो । निम्तो मान्न भेला भएका प्राणीहरु मध्ये मात्र १२ प्राणिहरु भगवान बुद्ध सामु आइपुगे । उनिहरुलाई पुरस्कार स्वरुप बुद्ध भगवानले पहिले आइपुग्ने जीवको नामबाट क्रमशः एक-एक जनालाई एउटा-एउटा वर्षको नाम दिएर १२ वर्ष चक्रको नामाकरण गर्नु भएको थियो ।
(ख) अर्को कथन अनुसार "जाङ बादशाह" ले एक पटक सबैभन्दा छिटो कुन प्राणी रहेछ भन्ने थाहा पाउन एउटा प्रतियोगिताको आयोजना गरेका थिए र बादशाहले तोकिएको नदि पार गर्ने प्रथम १२ प्राणीहरुलाई धर्तिको १२ हाँगाको रूपमा चन्द्र पात्रोको वर्ष चक्रमा समावेश गर्ने निधो गरेका थिए । यो
प्रतियोगितामा गोरुले आफूभन्दा पौडन कमजोर मुसालाई आफ्नो ढाँडमा बोकेर खोला तारी प्रतियोगितामा सहयोग गर्ने वाचा गरेको थियो। जव खोला तरिसकेपछी गोरुले आफ्नो ढाडमा रहेको मित्रलाई ओराल्न लाग्दा मुसा फुत्त उफ्रेर झर्यो र प्रथम भयो र मुसा प्रथम भएकोले वर्ष चक्रमा मुसा पहिलोमा पर्यो र गोरु दोश्रोमा पर्यो। यहि रितले अन्तिममा सुंगुर पुगेकोले १२ औं वर्षको नामाकरणमा सुंगुर पर्यो भन्ने उल्लेख गरिएको पाइन्छ । थुजिछे !

Comments
Post a Comment