दिप (छ्योइमे)
दिप (छ्योइमे)
दिप (छ्योइमे)/ अर्पणको विषयमा विभिन्न बुद्ध बोधिसत्वहरुले पुन्या लाभ फलको बारे बताउनु भएको छ । दिप दानको सन्दर्भमा विशेषगरी महायान/बज्रायान बौद्धहरुले कसरि गर्ने, के भावना गर्ने र के लाभहुन्छ यहाँ चर्चा गरौं ।
दिप (छ्योइमे) प्रज्वलन/अर्पण र लाभ
दियो बत्ती बाल्दा स्मरण गर्नुपर्ने कुराहरु
यो दिप (छुयोमे) त्रिसहस्रलोक समान र त्यहाँको वातावरण जस्तै महान र व्यापक होस् । यस दियोको सलेदो पर्वतको राजा सुमेरु पर्वत जस्तै होस् । यो दियोको तेल वा घ्यू प्रशान्त महासागर जस्तै होस् । प्रत्येक बुद्धको उपस्थिति संगै अरबौं खरब धर्म दिप होउन् । यस दियोको प्रकाशले सम्पूर्ण सत्वप्राणीहरुको अज्ञान्ता रुपी अन्धकार हटेर जाउन् । माथी सुखानन्दमय ब्रम्हलोक देखि तल अत्यन्त यातना सहेर बस्नु पर्ने नर्क लोक सम्मको सबै प्राणीहरुले दशै दिशाहरुमा रहनु भएका सबै बुद्ध तथा बोधिसत्वहरुको प्रत्यक्ष दर्शन गर्न पाउन् ।
त्यसपछि ओम बज्र अलोके आ हुङ मन्त्रोचारण गर्ने र यसरी भावना गर्ने मैले चढाएको यस शुद्ध र उज्यालो दियो बत्तीहरु भद्र कल्पका हजारौं बुद्धहरु सामु चढाउदैछु । त्यसै गरी दशै दिशामा निहित सबै बुद्ध तथा बोधिसत्वहरुलाई चढाउँदछु । आफ्नो गुरुवर, इष्टदेव लगायत सबै डाक, डाकिनीहरु, धर्मपालहरु अनि अनेक मण्डलाका सबै देव गणहरुमा समेत म यो दियो/छ्योमे चढाउँदछु । मैले यो दियो बत्ती बालेको पुण्यले आफ्नै यो जन्मको आमा बाबु लगायत सम्पूर्ण सत्वप्राणीहरुले प्रत्यक्ष रुपमा सम्यक सम्बुद्धको परिशुद्ध भूमिको दर्शन पाउन सकुन् । भन्दै यसरी मन्त्रोचारण गर्नु पर्दछ ।
तद्यथा ओम पञ्च ग्रिया अव बोधनी स्वाहा। यस पछि सबै बत्तीहरु पञ्चरंगको एकै रश्मी पुञ्जमा परिणत भयो भनी कल्पना गर्नुपर्दछ । पद्म र चन्द्रमाको आसन माथी ओम र यीः दुई अक्षर उत्पन्न भएको भावना गर्ने र त्यसबाट १०८ जना ज्यादै सुन्दर आभूषण अनि सौम्य वस्त्रमा सजिएका दिप चढाउने अत्यन्त मनमोहक पूजादेवीहरु (मार्मेमा) उत्पत्ति भएको र प्रत्येक देवीहरुको हातमा दियो बत्ती बोकी दशौं दिशाका बुद्धहरुलाई चढाइरहेको कल्पना गर्नुपर्दछ र सबै देवीहरुबाट पुनः एकबाट अर्को गर्दै अरबौं खरबौं दिप चढाउने देवीहरु उत्पन्न भएर उनीहरु सबैले बुद्ध भूमिमा खुल्ला आकाश समान व्याप्त भएर शान्त र क्रोधी स्वरुपी देव देवीहरुलाई चढाइरहेको भावना गर्नु पर्दछ ।
छ्योइमे बाल्नुभन्दा अगाडि के सोच्ने ?
लामा केसाङ ह्योल्मो (गोविन्द)ह्योल्मो ङाग्छ्याङ शाक्य साङ्पो नोप्रा गुम्बा
छ्योइमे (दियो) प्रज्वलन गर्नु अघि के सोच्नु पर्छ भने, यो मेरो जीवन आफ्नै सुख शान्तिको निम्ति मात्र नभई आकाश समान व्याप्त प्राणीहरुको दुःख हटाई सदैव सुख शान्तिको निम्ति म जे जस्तो परिस्थितिमा पनि लागि नै पर्नेछु भनी प्रण गर्नुपर्दछ। अझ भनौ खास रुपमा सबै सत्वप्राणीहरुलाई बुद्धत्वसम्म पुर्याउने ठूलो संकल्प राख्नुपर्दछ । त्यसको निम्ति सर्वप्रथम हामी जो कोहीले पनि दुई प्रकारका पुण्य संभार ( सञ्चय) गर्नु जरुरी हुन्छ भनी सोच्नुपर्दछ । पुण्य सम्भार र ज्ञान सम्भार अर्थात उपाय र प्रज्ञालाई परिपूर्ण गर्ने प्रयास गरिरहनु पर्दछ । त्यसैको अभ्यास स्वरुप आज म दिप प्रज्वलन गर्दैछु भनी सोच्नु अत्यावश्यक हुन्छ ।
छ्योइमे कति प्रकारका हुन्छन् ?
सामान्यतया दियो बत्ती होस् या कुनै पनि पूजनका सामानहरु प्रत्यक्ष र मनोकल्पीत गरी दुई प्रकारका हुन्छन् । प्रत्यक्ष भन्नाले घ्यू, सलेदो आदि आफ्नै हातले तयार पारेर बनाएको र कल्पीत भन्नाले साँच्चीकै पूजनका सामाग्री नभएपनि मनले कल्पेर सुन चाँदीको प्यालामा घ्यू तेल भरेर चढाइरहेको सम्झनुलाई बुझ्नुपर्दछ । आजभोली विकसित देश जापान, सिंगपुर र ताईवान जस्ता देशहरुमा कमलको फूल आकारमा बनाइएका विजुली बत्तीहरुको प्रचलन ज्यादै बढेर गएको देखिन्छ । वातावरणीय दृष्टिले बिजुली बत्ती ज्यादै सरल, सुरक्षित, आकर्षक अनि धुवाँ रहित हुन्छन् खाने तेल प्रयोग गरेर बनाइएका दियो बत्तीहरु बढी धुवाँ लाग्ने, कोठा कालो हुने र खाता वा अन्य कपडामा सल्कीने खतर रहन्छ । तर बनस्पती डाल्डा घ्यूबाट तयार पारेको (छ्योइमे) बत्ती भने कम धुवाँ लाग्ने हुन्छन् ।
अचेल डाल्डा कै बत्तीहरु बढी प्रचलनमा आएको देखिन्छ। बत्ती जेसुकैबाट बनेको भए पनि बत्ती बाली सकेपछि ओम बज्र अलोके आ हुङ भनी मन्त्रोचारण गर्ने यदि यो मन्त्र उच्चारण गर्न गाह्रो जस्तो लागेमा सबैभन्दा सरल ओम आ हुङ भन्दै बत्ती सल्काउने । दियो प्रज्वलन गर्दा मुख छोप्ने र अनावश्यक गफ गर्नु हुँदैन किनकि यसरी गफ गर्दा थुक उछिट्टिएर पूजा सामाग्रीहरु शुद्ध रहन पाउँदैनन् । ओम आ हुङ को अर्थ काय वाक र चित्तमा रहेका यी हाम्रा तीनै प्रकारका दोषहरु नाश भई बत्ती वा जुनसुकै पूजानका सामाग्रीहरु विशुद्ध हुनेछन् । दियो बत्ती प्रज्ज्वलन गरी सकेपछि तुरुन्त कलश (भुम्बा) को पानी छर्कदै ओम रम याम खाम ओम आ हुङ भनी एक पल्ट वा तीन पल्टसम्म मन्त्रोचारण गर्दै कलशको कुसुम जल बालेको दियो बत्तीतिर पारेर छर्किनु पर्दछ। यसरी मन्त्रोचारण गर्नाले अग्नी, वायु र जलमा रहेका सबै अशुद्ध तत्व वा विकारहरु शुद्ध भएर जानेछन् ।
त्यसपछि सो वत्ती कसलाई र कसको निम्ति बालेको हो उसैको नाम सम्झनुका साथै अरु पनि यस दुःख रुपी भवसागरमा आ-आफ्नै दुःखबाट तड्पी रहेका अरबौं खरबौं प्राणीहरु समेत मैले यो छ्योइमे बालेको पुण्यले शिघ्र बुद्धत्व प्राप्त गर्नसकुन् भनी बुद्ध मूर्ति भए बुद्ध मूर्ति अगाडि, नभए बुद्ध तथा बोधिसत्वहरु आफ्नो अगाडिको खुल्ला आकाशमा प्रत्यक्ष विराजमान हुनु भएको सम्झी तन, मन र वचनद्वारा गहिरो श्रद्धाभक्ति उत्पन्न गर्दै सबै सत्वप्राणीहरु आ-आफ्नै दुःखबाट तत्काल मुक्त होउन र जसरी सूर्यले यस धर्तीको अन्धकारलाई नाश पारी न्यानो प्रकाश स्वरुप यस पृथ्वीमा सबै प्राणीहरुको जीवन यापनमा सहज तुल्याइ दिन्छ त्यसरी नै यस बत्ती बालेको पुण्यले वा प्रकाशले म लगायत सबै सत्व प्राणीहरुको अन्धकार रुपी मनको दोष अविद्यालाई नाश गरी सदा सर्वदा प्रज्ञाको उदय भई मोक्ष वा सम्यक संबुद्धको दर्शन पाउन सकौं भन्दै परिणामना (डोवा) पनि गरिहाल्नु पर्दछ ।
यसो गर्न सके भने मात्र बत्ती बालेको पुण्य क्षय भएर जान पाउँदैन । स्मरण रहोस् महायान बौद्ध धर्म परम्परालाई परापूर्वकालदेखि अंगाल्दै आई रहेका हामी सम्पूर्ण ह्योल्मो, तामाङ, शेर्पा, गुरुङ, तोप्केगोला, भोटे, मुगुम लगायत अन्य बौद्ध धर्ममा आस्था राख्ने हरेक जनजातिहरुले जुन सुकै पूजनका सामाग्री चढाउँदा वा प्रणिधान गर्दा आफू र आफ्नो परिवारको सुख शान्तिको निम्ति मात्र नभई सबै सत्वप्राणीहरुको सुखानन्द र मोक्ष अर्थ गरिने परम्परा रहेको छ । अरुलाई आफूभन्दा बढी महत्व दिने भएकै कारण यस धर्म वा परम्परालाई महायान परम्परा भनिएको हो ।


Comments
Post a Comment